“I’ll build an earthquake resistant house now.”- Tsering

आफ्नो नयाँ जग्गाको लालपुर्जाको साथमा छिरिङ तामाङ ।
तस्बिरः सुष्मा न्यौपाने/सामुदायिक आत्मनिर्भर सेवा केन्द्र

२७ वर्षीए छिरिङ तामाङ आफ्नो श्रीमान् निमा तामाङ, छोरो र ससुराका साथ रसुवा जिल्लाको सानो हाकु भन्ने गाउँमा बस्दै आएका थिए । गत वर्ष २०७२ साल बैशाख १२ मा गएको भूकम्पबाट उनको परिवार मात्र नभएर सिङ्गै सानो हाकु नै प्रभावित भएको थियो ।

उनीहरु त्यहाँबाट विस्थापित भई धुन्चेमा आई लामो समय अस्थायी शिविरमा बसोबास गरेको उनी बताउछिन् । छिरिङ् भन्छिन्, घर बलियो थिएन, भूकम्पले पूरै सखाप बनायो । अब चाहिँ बलियो घर बनाउनुपर्छ भन्ने सिकाइ भएको छ । भूकम्पले उनीहरुको घर मात्र भत्किएन, उनीहरुको सानो हाकु गाउँ नै जोखीमयुक्त क्षेत्रमा परेको कुरा उनीहरुले भूगर्भविद्को प्रतिवेदनबाट थाहा पाएका हुन् । सानो हाकु गाउँमाथि रहेको डाँडो चिराचिरा परेको र जुनसुकै बेला पनि पहिरो जान सक्ने छिरिङले पनि सुनेकी बताइन् । उनी भन्छिन्, “हामी त हाम्रो पुरानो गाउँमा बस्नु हुँदैन रे, पहिरोले पुरिन्छ रे ।”

सामान्य ग्रामीण किसान परिवारका निमा आफू र परिवारको जीविकोपार्जनको लागि कमाई गर्नको लागि विदेशीए । समय बित्दै गयो र अस्थायी शिविरका सबै जना आफ्नो गाउँ फर्किन थाले । उनीहरुलाई शरणार्थी जसरी अस्थायी शिविरमा बस्नु मन थिएन । छिरिङ पनि गाउँ फकिए । उनी भन्छिन्, “गाउँ फर्केसँगै मरिने डर पनि बढेको थियो, गाउँमाथिको डाडाँ खस्ने हल्ला छ । आकाशबाट पानी परेपछि डाँडो खसेर परिवारै पुरिने हो कि भन्ने चिन्ता छ ।” गाउँ नै अन्यत्र स्थानान्तरण हुनुपर्ने भएको हुँदा छिरिङ र उनको परिवार पनि आफ्नो गाउँभन्दा केही तल रहेको पाङलिङ भन्ने क्षेत्रमा जग्गा खरिद गरी नयाँ घर बनाई बस्ने योजनामा छन् ।

जग्गा खरिद गर्न धुन्चे आएपछि मात्रै थाहा भयो मेरो त भूकम्प पीडितको परिचयपत्र, घर सर्भेक्षण निस्सा कार्ड, जोखिमयुक्त बस्तीको लाभग्राही सबैमा श्रीमान्को नाम रहेछ । श्रीमान् नभई हुँदैन् भने । मलेसिया भएका श्रीमान् कसरी झिकाउनु तुरुन्तै ? साह्रै चिन्तामा परे । आशाहिन भएर घर फर्किन लागेको थिए, दिगो समाधान टोलीसँग भेट भयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यविधि अनुसार अनुदानमा खरिद गरिने जग्गा श्रीमान्–श्रीमतीको नाममा दर्ता गराउनुपर्ने कानुनी व्यवस्था छ र उनको श्रीमान् विदेशमा थियो । दिगो समाधान टोलीका साथीहरुले उनको श्रीमान् निमालाई सम्पर्क गरी यताबाट साधारण वारेसनामा तयार गरी इमेल मार्फत पठाए । निमाले त्यस वारेसनामा हस्ताक्षर गरी इमेल पठाएपछि मात्र जग्गा मालपोत कार्यालयमा दर्ता भयो । जग्गा खरिद प्रक्रिया, दर्ता प्रक्रिया र जग्गा खरिदको लागि अनुदान लिने प्रक्रियाको लागि दिगो समाधान टोलीले सहयोग गरे । यस्तो सहयोगबाट छिरिङ र उनको परिवार अति नै खुसी भएको उनले बताइन् । छिरिङ भन्छिन, “अब त जग्गा पनि पायौं, चाँडै नै सुरक्षित घर बनाउने योजना छ ।”

अन्तत एक साधारण इमेलले छिरिङलाई अनुदान प्राप्त र नयाँ घर निर्माण गर्न जग्गा किन्न मद्दत गर्यो ।

लेखकः सुष्मा न्यौपाने/सामुदायिक आत्मनिर्भर सेवा केन्द्र



टिप्पणीहरु बन्द गरिएका छन् ।

ne_NPNepali
en_USEnglish ne_NPNepali